मगरहरुको सांस्कृतिक पर्व माघे संक्रान्ति बारे केही जानकारी

 

मगरहरुको सांस्कृतिक पर्व माघे संक्रान्ति बारे केही जानकारी
     




विभिन्न जातजातिको मौलिक चाडपर्व रीतिरिवाज, भाषा, धर्म, संस्कृति नै उनीहरुको पहिचान हो । नेपालका आदिवासी जनजातिमध्ये मगर, थारु, मैथली, नेवार र किराँत सम्प्रदायले आ–आफ्नै तरिकाले माघे संक्रान्ति पर्व मनाउँछन् । त्यत्तिमात्र होइन, नेपालका आर्यमूलका सम्प्रदायले पनि माघे संक्रान्ति मनाउँछन् । थारुले माघे संक्रान्तिलाई माघि पर्वको रुपमा मनाउँछन् । मगरहरुले ‘माघे संक्रान्ति’ भनेर मनाउँछन् ।

नेपालका आदिवासी जनजाति समुदायहरु मध्ये सबैभन्दा ठूलो समुदाय मगरहरु यो माघे संक्रान्तिलाई राष्ट्रिय पर्वको रुपमा मनाउँछन् । मगरको आफ्नै विशिष्ट भाषा, संस्कृति, संस्कार र इतिहास छ । भाषाको हिसाबले बाह्र मगरात, अठार मगरात र काइकेई मगर भाषा बोल्ने गरिन्छ । मगरहरु प्रकृतिपूजक हुन् । माघे संक्रान्ति पर्व पनि एउटा प्रकृति पुज्ने अवसरको रुपमा लिने गरिन्छ । प्राचीनकालमा मगरहरुको कृषि र सिकारमा आधारित जीवनशैली थियो, अहिले पनि छ ।

वर्षायाममा खेतीपाती लगाएर हिउँदयाममा फुर्सदिलो समयमा खेती अन्नघरमा भिœयाएर ढुक्क भएको समय पर्छ, माघे संक्रान्तिको बेला । माघे संक्रान्तिदेखि पृथ्वी मकर रेखाबाट उत्तरतिर सर्ने हुँदा जाडो सिद्धिएर गर्मी मौसम सुरु हुन्छ । माघे संक्रान्तिदेखि रात छोटो र दिन लामो हुँदै जान्छ । माघ १ देखि गर्मी मौसम सुरु हुने हुँदा प्रकृतिसँग मिल्न शरीरलाई चिसो बनाइराख्न भुइँमुनि फलेको कन्दमुल, सखरखण्ड, तरुल खाने चलन मगर समुदायमा छ ।

मगर समुदायले माघे संक्रान्ति पर्वलाई मरेका पुर्खाहरुलाई पानी चढाउने डि डाँके (मगर भाषामा पानी चढाउने) पर्वको रुपमा मानेका छन् । विशेष गरेर गण्डकी, लुम्बिनी क्षेत्रका मगरहरुले यसरी मनाएको पाइन्छ । माघे संक्रान्ति आउनुभन्दा अगाडि नै मगरहरुले घरघरमा जाँड राख्ने गर्दछन् । संक्रान्तिको केही दिनअगाडि मगर महिलाहरु नजिकको पधेंरो, खोलामा गएर रक्सी पार्ने गर्दछन् भने पुरुषहरु वनमा गएर वनतरुल, बारीको सखरखण्ड, घरतरुल खन्ने गर्छन् ।

माघे संक्रान्ति मगर समुदायको मौलिक पर्व हुँदा यसलाई आधुनिक जीवन पद्दतिसँग मेल खाने गरेर मनाउनु पर्छ । हाम्रा पुराना संस्कार र संस्कृतिहरु इतिहासको विरासत हो । माघे संक्रान्ति मगरहरुको पहिचानको पर्व हो । विविधता हाम्रो सम्पत्ति हो, विपत्ति होइन ।

पुस मसान्तको बेलुकी घरघरमा सेलरोटी, बारा बनाएर भोलिपल्टको परिकारहरुको लागि तयारी गरिन्छ । सखरखण्ड तरुलहरु पनि पुसमा पकाए माघमा खाने भनी बेलुकी नै उसिनिन्छ । भोलिपल्ट अर्थात् माघ १ गते सबै चोखोनितो हुने भनेर घर लिपपोत गरिन्छ । सबेरै पुरुष महिला नजिकको खोला, पधेंरोमा गएर स्नान गर्ने गर्छन् । त्यसमाथि पनि पवित्रधाम गुल्मीको रिडी, पाल्पाको राम्दी, त्रिवेणी, कास्कीको सेती लगायत नदी किनारमा गएर नुहाएर पवित्र बनेर मरेका पुर्खालाई डि. डाके (मुठी दान) गर्ने गर्छन् ।

नदीमा नुहाएपछि खोला किनारमा केराको पातमा एकमाना चामलमा एकमाना मासको दाल भिजाएर मुछि नौवटा डल्ला बनाएर पुर्खाको प्रतीक बनाइन्छ । त्यसपछि त्यस डल्लालाई पितृ सम्झी अदुवा, बेसार र मर्चा (रक्सी बनाउने मुल औषधी) राखेर आफ्ना दिवंगत पुर्खाको मुहार सम्झेर घ्यूको धुप हालेर पूजा गरिन्छ । यसरी हेर्दा माघे संक्रान्ति मगर समुदायको पितृ पूजा गर्ने पवित्र दिन पनि हो ।

रोल्पा रुकुमका मगरहरुले माघे संक्रान्ति पर्वलाई अझ मौलिक रुपमा मनाउने गर्छन् । पुस मसान्तको दिन आफ्नो भाइखलकमा सुँगुर काटेर माघे संक्रान्तिको तयारी गरिन्छ । मसान्तकै बेलुकी सुँगुरको मासु, तरुल पकाएर टपरीमा राखी अगेनामाथिको भारमा मरेका पुर्खाको नाउँमा चढाउने गरिन्छ । पितृलाई रक्सी अनिवार्य चढाइन्छ । यसैगरी घरघरमा आफ्नो चेलीबेटीलाई मिसरा (टपरीमा चामल तरुल) दिने चलन छ । त्यो चामल, दाल, तरुल लिएर गाउँका युवतीहरु पधेंराखोलामा गएर पकाउने गर्दछन् । यसरी खोला पधेंरा जाँदा कपडाको पुतली बनाएर सँगै लैजाने गरिन्छ ।

खोलामा युवतीहरुले पकाएको भात जाँड गाउँका युवाहरु गएर खोसेर खाने चलन समेत छ । खाना खाएपछि पुतलीलाई मरिन् भनेर जलाई रुँदै खोलामा बगाइदिने र रुने गर्दछन् ।नदी किनारको काम सकेपछि गाउँका युवायुवतीलाई गाउँको पायक पर्ने ठाउँमा जम्मा हुन्छन् । कतिपय ठाउँमा गाउँका युवतीहरु टीका लगाइदिन गाउँ डुल्ने गर्दछन् । यसरी डुल्दा उनीहरुले दक्षिण पाउँछन् । त्यसपछि तारो हान्ने खेल सुरु हुन्छ । गाउँले सबै जम्मा भएर काठको फ्लेकमा निशाना साधेर पहिले पहिले धनुषवाण आजकल बन्दुकले तारो हानिन्छ । यसरी तारो हान्दा फलेकमा गाउँका युवतीहरुले अँगार अथवा अन्य चिजले निशाना बनाई तारो हान्न युवाहरुलाई प्रेरित गरिन्छ ।

फ्लेक नजिकै बासा (थैली) भित्र इनाम रकम पनि राखिन्छ । गाउँका तन्नेरीहरुले राखेको निशानमा तारो सके भने थैलीभित्र राखेको रकम इमान स्वरुप लिन पाइन्छन् । निशाना फेल भयो भने थैलीभित्र राखिएको रकमको दोब्बर रुपैयाँ दण्ड जरिवाना सरह युवतीलाई दिनुपर्छ । कतिपय बेलामा तन्तेरीलाई जिस्क्याउन तरुनीले निशानामा तारो हान्नेसँग विवाह गर्न सर्त राखेर तारा खेल रोमाञ्चक बनाउँछन् । यसैगरी माघे संक्रान्तिकै दिन युवायुवतीबीच पारसी (गाँठो फुकाउने) खेल खेल्ने गरिन्छ ।

यसरी पवित्र नदी किनारमा तीर्थ स्थलमा पूजा गरेपछि घरमा गएर निम्तालु चेलीबेटीलाई बेसारले रंगाएको चालमको टीका लगाई लगाई दिएर गच्छेअनुसार दानदिने चलन छ । चेलीबेटीले माइती आउँदा रक्सी सेलरोटी ल्याउने चलन छ । बिहानको यी प्रक्रिया सकेपछि खाली पेटमा सखरखण्ड, तरुल र खिचडी (चाल, दाल, घिउ राखेर पकाएको विशेष परिकार) खाने गरिन्छ । त्यसपछि दिउँसो सुँगुर, कुखुराको मासुसँग रक्सी पकाएर नाचगान गर्ने गरिन्छ । कतिपय मगरबस्तीहरुमा हाट बस्छन् ।

यसैगरी धौलागिरी मेगका मगरहरुले यो पर्वलाई धनुषवाण हानेर भव्यताका साथ मनाउने चलन छ । म्याग्दीका पुनमगरहरुले काठमाडांैमा विशेष प्रतियोगिताका साथ धनुषवाण हानेर माघे संक्रान्तिको रौनक बढाउने गरेका छन् । 

Source: https://kaligandakee.blogspot.com/2017/01/blog-post.html 

No comments